गोरखा दरबारको बारेमा जानकारी
![](https://nebnews.net/wp-content/uploads/2024/03/2022-11-21-scaled.jpg)
गोरखाको ऐतिहासिकता
भौगोलिक अवस्थिति: गण्डकी प्रदेश अन्तर्गत पर्ने गोरखा जिल्ला उत्तरमा तिब्बत, दक्षिणमा चितवन र तनहुँ, पूर्वमा धादिङ अनि पश्चिममा लम्जुङको सिमानाले घेरिएको छ भने मर्स्यङ्दी नदीले लम्जुंग र गोरखाको सिमाना छुट्टाएको छ । गोरखा जिल्लाको सदरमुकाम गोरखामा पर्दछ । गोरखा जिल्लामा २ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेका छन् । २ वटा नगरपालिकामध्ये गोरखा नगरपालिकाभित्र गोरखाको ऐतिहासिक दरवार पर्दछ ।
नेपालको इतिहासमा गोरखा दरवारको ठूलो महत्व रहेको छ । लिच्छवि राजा शिवदेव द्वितीयको सम्वत १२२ को अभिलेख यस क्षेत्रमा प्राप्त भएको र उक्त अभिलेखमा बज्रभैरवको उल्लेख भएकोले गोरखा लिच्छवि शासन अधीनमा रहेको कुरा प्रष्ट हुन्छ । गोरखा दरवार अन्तर्गत रहेको उपल्लोकोट परिसरमा हाल पनि बज्रभैरवको थान रहेको र पर्व – पर्वमा यस स्थानमा विशेष पूजा हुने गरेको छ । प्राप्त लिच्छविकालीन अभिलेखमा बज्रभैरवको दैनिक पूजाको व्यवस्थाका बारेमा उल्लेख गरेकोले बज्रभैरव गोरखकाली र गोरखनाथभन्दा पनि प्राचीन रहेको बुझिन्छ । गोरखामा शाह राज्य स्थापना हुनु अघि यहाँ खड्का मगरहरुले राज्य गर्दथे भन्ने विश्वास गरिन्छ तर यस कुरालाई पुष्टि गर्ने कुने ठोस प्रमाण प्राप्त हुन सकेको छैन । वंशावली अनुसार गोरखाका थरघर र भारदारहरुको सहयोगमा द्रव्य शाहले वि.सं. १६१६ भाद्र कृष्ण अष्टमीका दिन तत्कालीन गोरखाका शासक मगर खड्कालाई हटाई आफ्नो राज्यको श्री गणेश गरेका थिए । द्रव्य शाहदेखि क्रमशः पुरन्दर शाह, छत्र शाह, राम शाह, डम्बर शाह, कृष्ण शाह, रुद्र शाह पृथ्वीपति शाह, नरभुपाल शाह र पृथ्वीनारायण शाहले क्रमश राज्य गरेको देखिन्छ । पृथ्वीनारायण शाह गोरखाका अन्तिम राजा बने । नेपाल एकीकरण हन भन्दा अगाडि दक्षिणमा कर्णाटवंशी राज्य, पश्चिममा खस राज्य उपत्यकामा ३ वटा मल्ल राज्य लगायत बाइसे चौविसे स-साना राज्यहरु रहेको र यी राज्यहरु सत्ता हडप्न समय समयमा एक आपसमा लडाई झगडा युद्ध भईरहेको प्रसंङ्ग विभिन्न ऐतिहासिक दस्तावेजहरुबाट जानकारी पाउन सकिन्छ ।
गोरखाका राजा नरभुपाल शाहको देहवसान पछि वि.सं. १७७९मा जन्मेका पृथ्वीनारायण शाह २० वर्षको उमेरमा गोरखाको राजगद्धीमा बसेको देखिन्छ । पृथ्वीनारायण शाह राजा हुने बित्तिकै त्यसै चुप लागेर बसेनन छरिएर रहेका टुक्रे राज्यहरुलाई एकत्रित गरी सिंगो नेपाल राज्य बनाउन अगाडि बढे । यसैका फलस्वरुप उनले वि.सं. १८०१ मा नुवाकोट, १८१९मा मकवानपुर, १८२२ मा किर्तिपुर, १८२५ मा कान्तिपुर, ललितपुर र १८२६ मा भक्तपुर विजय गरी गोरखालाई पूर्ण रुपमा छोडी कान्तिपुरलाई राजधानी बनाइ एकताको शुत्रमा बाँध्ने काममा महत्वपुर्ण भूमिका खेलेको देखिन्छ ।
पृथ्वीनारायण शाहको जन्मस्थल समेत भएकोले गोरखाको विशेष महत्व रहेको पाईन्छ । पृथ्वीनारायण शाहको समयभन्दा पहिला उनका १० पुस्ता अघिदेखिका पुर्खाहरु पनि यसै गोरखामा दरवार बनाई शासन सञ्चानल गरेको देखिन्छ । गोरखा दरवार क्षेत्रको आजको भौतिक संरचना रामशाहदेखि पृथ्वीपतिसम्म विभिन्न समयमा निर्माण भएको देखिन्छ । गोरखा दरवार क्षेत्रमा महत्वपूर्ण ३ वटा कोट तल्लोकोट, माझकोट र उपल्लाकोट रहेको छ भनिन्छद्रव्य शाहले पहिला तल्लोकोटमा खडका राजालाई पराजय गरी राज्य स्थापना गरेका थिए । पछि माझकोट र उपल्लोकोटमा दरवार निर्माण गरे भनिन्छ । हाल गोरखा दरवारमा रहेको कालिका मन्दिर लगायत दरवार राजा राम शाहदेखि निर्माण कार्य शुरु भएको मानिन्छ । हुन त द्रव्य शाहका नाति छत्र शाहले बनाउन लगाएका दुई नगरा गोरखा दरवारमा हालसम्म पनि रहेका छन् । यसले गर्दा छत्र शाहको समयमा दरवार बनिसकेको संकेत पाउन सकिन्छ । तर यहाँका अधिकांश दरवार लगायतका भागहरु राजा रामशाहले बनाउन लगाएका थिए । यिनै राजा राम शाहले पाटनका सिद्धिनरसिंह मल्लसँग मितेरी साइनो लगाई गोरखामा पाटनका चौविसकोठी महाजन भिकाई वाणिज्यको उन्नति गराउन ठूलो प्रयास गरेका थिए । राजा रामशाहकी पट्टरानी नै मरणोपरान्त प्रसिद्ध मनकामनाको रुपमा आविर्भाव भएकी हुन भन्ने जनविश्वास पनि रहेको छ ।
विश्व सम्पदाको सम्भाव्य सूचीमा रहेको गोरखा दरवार र यस क्षेत्रको संरक्षण एंव व्यवस्थापनका लागि नेपाल सरकारले चार किल्ला खोली संरक्षित स्मारक क्षेत्र घोषण गरेको छ । गोरखकाली मन्दिर, गोरखनाथ जस्ता धार्मिक महत्वका शाक्त र नाथ सम्प्रदायसंग सम्बन्धित यहाँ अवस्थित मन्दिरहरुमा विशेष तथा नैमित्तिक पूजा, परम्परा अक्षुर्ण रुपले चल्दै आएकोमा सोको निरन्तरता तथा विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने आधारलाई संरक्षण गर्नु हामी सवैको दायित्व भित्र पर्दछ ।