राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको जन्मथलो गोरखाको गोरखा दरबार

गोरखा दरबार

गोरखाको ऐतिहासिकता

भौगोलिक अवस्थिति: गण्डकी प्रदेश अन्तर्गत पर्ने गोरखा जिल्ला उत्तरमा तिब्बत, दक्षिणमा चितवन र तनहुँ, पूर्वमा धादिङ अनि पश्चिममा लम्जुङको सिमानाले घेरिएको छ भने मर्स्यङ्दी नदीले लम्जुंग र गोरखाको सिमाना छुट्टाएको छ । गोरखा जिल्लाको सदरमुकाम गोरखामा पर्दछ । गोरखा जिल्लामा २ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेका छन् । २ वटा नगरपालिकामध्ये गोरखा नगरपालिकाभित्र गोरखाको ऐतिहासिक दरवार पर्दछ ।

नेपालको इतिहासमा गोरखा दरवारको ठूलो महत्व रहेको छ । लिच्छवि राजा शिवदेव द्वितीयको सम्वत १२२ को अभिलेख यस क्षेत्रमा प्राप्त भएको र उक्त अभिलेखमा बज्रभैरवको उल्लेख भएकोले गोरखा लिच्छवि शासन अधीनमा रहेको कुरा प्रष्ट हुन्छ । गोरखा दरवार अन्तर्गत रहेको उपल्लोकोट परिसरमा हाल पनि बज्रभैरवको थान रहेको र पर्व – पर्वमा यस स्थानमा विशेष पूजा हुने गरेको छ । प्राप्त लिच्छविकालीन अभिलेखमा बज्रभैरवको दैनिक पूजाको व्यवस्थाका बारेमा उल्लेख गरेकोले बज्रभैरव गोरखकाली र गोरखनाथभन्दा पनि प्राचीन रहेको बुझिन्छ । गोरखामा शाह राज्य स्थापना हुनु अघि यहाँ खड्का मगरहरुले राज्य गर्दथे भन्ने विश्वास गरिन्छ तर यस कुरालाई पुष्टि गर्ने कुने ठोस प्रमाण प्राप्त हुन सकेको छैन । वंशावली अनुसार गोरखाका थरघर र भारदारहरुको सहयोगमा द्रव्य शाहले वि.सं. १६१६ भाद्र कृष्ण अष्टमीका दिन तत्कालीन गोरखाका शासक मगर खड्कालाई हटाई आफ्नो राज्यको श्री गणेश गरेका थिए । द्रव्य शाहदेखि क्रमशः पुरन्दर शाह, छत्र शाह, राम शाह, डम्बर शाह, कृष्ण शाह, रुद्र शाह पृथ्वीपति शाह, नरभुपाल शाह र पृथ्वीनारायण शाहले क्रमश राज्य गरेको देखिन्छ । पृथ्वीनारायण शाह गोरखाका अन्तिम राजा बने । नेपाल एकीकरण हन भन्दा अगाडि दक्षिणमा कर्णाटवंशी राज्य, पश्चिममा खस राज्य उपत्यकामा ३ वटा मल्ल राज्य लगायत बाइसे चौविसे स-साना राज्यहरु रहेको र यी राज्यहरु सत्ता हडप्न समय समयमा एक आपसमा लडाई झगडा युद्ध भईरहेको प्रसंङ्ग विभिन्न ऐतिहासिक दस्तावेजहरुबाट जानकारी पाउन सकिन्छ ।

गोरखाका राजा नरभुपाल शाहको देहवसान पछि वि.सं. १७७९मा जन्मेका पृथ्वीनारायण शाह २० वर्षको उमेरमा गोरखाको राजगद्धीमा बसेको देखिन्छ । पृथ्वीनारायण शाह राजा हुने बित्तिकै त्यसै चुप लागेर बसेनन छरिएर रहेका टुक्रे राज्यहरुलाई एकत्रित गरी सिंगो नेपाल राज्य बनाउन अगाडि बढे । यसैका फलस्वरुप उनले वि.सं. १८०१ मा नुवाकोट, १८१९मा मकवानपुर, १८२२ मा किर्तिपुर, १८२५ मा कान्तिपुर, ललितपुर र १८२६ मा भक्तपुर विजय गरी गोरखालाई पूर्ण रुपमा छोडी कान्तिपुरलाई राजधानी बनाइ एकताको शुत्रमा बाँध्ने काममा महत्वपुर्ण भूमिका खेलेको देखिन्छ ।

पृथ्वीनारायण शाहको जन्मस्थल समेत भएकोले गोरखाको विशेष महत्व रहेको पाईन्छ । पृथ्वीनारायण शाहको समयभन्दा पहिला उनका १० पुस्ता अघिदेखिका पुर्खाहरु पनि यसै गोरखामा दरवार बनाई शासन सञ्चानल गरेको देखिन्छ । गोरखा दरवार क्षेत्रको आजको भौतिक संरचना रामशाहदेखि पृथ्वीपतिसम्म विभिन्न समयमा निर्माण भएको देखिन्छ । गोरखा दरवार क्षेत्रमा महत्वपूर्ण ३ वटा कोट तल्लोकोट, माझकोट र उपल्लाकोट रहेको छ भनिन्छद्रव्य शाहले पहिला तल्लोकोटमा खडका राजालाई पराजय गरी राज्य स्थापना गरेका थिए । पछि माझकोट र उपल्लोकोटमा दरवार निर्माण गरे भनिन्छ । हाल गोरखा दरवारमा रहेको कालिका मन्दिर लगायत दरवार राजा राम शाहदेखि निर्माण कार्य शुरु भएको मानिन्छ । हुन त द्रव्य शाहका नाति छत्र शाहले बनाउन लगाएका दुई नगरा गोरखा दरवारमा हालसम्म पनि रहेका छन् । यसले गर्दा छत्र शाहको समयमा दरवार बनिसकेको संकेत पाउन सकिन्छ । तर यहाँका अधिकांश दरवार लगायतका भागहरु राजा रामशाहले बनाउन लगाएका थिए । यिनै राजा राम शाहले पाटनका सिद्धिनरसिंह मल्लसँग मितेरी साइनो लगाई गोरखामा पाटनका चौविसकोठी महाजन भिकाई वाणिज्यको उन्नति गराउन ठूलो प्रयास गरेका थिए । राजा रामशाहकी पट्टरानी नै मरणोपरान्त प्रसिद्ध मनकामनाको रुपमा आविर्भाव भएकी हुन भन्ने जनविश्वास पनि रहेको छ ।

गोरखा दरवार परिसरमा रहेका महत्वपूर्ण सम्पदाहरु

१. गोरखा मूल दरवार: गोरखा दरवार परिसरमा रहेको संरचनाहरु मध्ये मूल दरवारको विशेष महत्व रहेको छ । यो मूल दरवार राजा रामशाहले निर्माण गरेको भनिन्छ । बुंईगल सहित यो दरवार ४ तला रहेको छ । दरबारको तेस्रो तलाकलात्मक आँखी झ्यालले वरिपरि घेरेर बनाइएको छ । मुख रहेको यो दरवारमा उत्कृष्ट काष्ठकलाका नमूना देख्न सकिन्छ । रामशाह पछिका राजाहरुले यसै दरवारबाट राज्य सञ्चालन गरेको थिए । यस दरवारमा विभिन्न कोठाहरु रहेको छन् ।जुन यस प्रकार रहेको छ:-

गोरखा मूल दरवार । तस्विर सौजन्य: सुमित श्रेष्ठ/गुगल म्याप्स

पृथ्वीनारायण शाह जन्मेको कोठा: दरवारको तल्लो अर्थात भुईतलाको दाँयातर्फको कोठामा पृथ्वीनारायण शाह जन्मेको मानिन्छ । हाल यो कोठा बन्द गरेर राखिएको छ । यो कोठा वाहिर रहेको कोठालाई धुनी कोठाभनिन्छ । भनिन्छ पृथ्वीनारायण शाह जन्मेपछि यसै धुनीकोठामा सेकताप गरिन्थ्यो।

राजकन्या कोठा: दरवारको मूल प्रवेशद्धारबाट गएपछि भित्री द्धार आउँछ यसै भित्रीद्वारबाट छिरे पछि बाँयातर्फ एक कोठा रहेको छ जसलाई कन्या कोठा भनिन्छ । यस कोठामा बडा दशैं ८ कन्या र १ कुमारलाई पूजा गरी भोजन गराइन्छ भने वडा दशैंको टिकाको दिन देखि पुर्णीमाका दिनसम्म गोरखकाली र गोरखकालीसंग सम्बन्धित वस्तुहरु यस कोठामा राख्ने प्रचलन रहेको छ ।

सिंहासन कोठा: कन्या कोठाको ठीक आगाडि सिंहासन कोठा रहेको छ । यस कोठाको काठको सिंहासन राखिएको छ जसलाई पृथ्वीनारायण शाहको सिंहासन भन्ने गरिन्छ । यस कोठालाई काठद्वारा निर्माण गरेको जालीदार बार लगाईएको छ ।

कौषीतोषा कोठाः यस कोठाबाटवर्षभरिको पर्वपूजाका सामग्री भण्डारण गरी पूजा सामान तयार गरेर पूजाकोठामा पठाउने गरिन्छ ।

भण्डारकोठाः भण्डारकोठाभित्र ३ वटा कोठामा दरवारसँग सम्बन्धित पर्व पूजामा आवश्यक पर्नेपूजा सामग्री लगायत अन्य पूजा भाँडाहरु, हतियारहरु भण्डार गर्ने गरिन्छ । यी भण्डारण गरिएका वस्तुहरु पर्वपूजाहरुमा निकाल्ने गरिन्छ ।

भान्छा कोठा: दरवारको दोस्रो तलामा ठूलो लामो कुनै घेरावारा नगरेको कोठा रहेको छ जसलाई राजपरिवारको भान्छा भन्ने गरिन्छ । यस भान्छाकोठामा हाल पनि चुलो चौका रहेको छ । हाल यस भान्छाकोठामा अष्टमीका दिन कन्यापूजा गर्ने गरिन्छ ।

भान्छाकोठा सँगैको पूर्वतर्फको कोठाः यस कोठामा गोरखनाथको पूजासँग सम्बन्धित वस्तुहरु राख्ने गरिन्छ ।

कैलाशकोठाः दरवारको तेस्रोतला तथा बुँइगलमा भगवतीको मुख्य गर्भगृह रहेको छ जहाँ मुख्य भगवती र भगवतीसँग सम्बन्धित वस्तुहरु राख्ने गरिन्छ । चैते दशैंको एक दिन र बडादशैंको नवरथाभरि भगवतीलाई कालिका मन्दिरको पूजाकोठामा विराजमान गराईन्छ ।यस कैलाशकोठामा भित्रीया सुसारेहरु बाहेक अन्य प्रवेश गर्न पाइदैन ।

२. रंगमहल: गोरखा दरवार र कालिका मन्दिरलाई जोड्ने गरी एक भवन बनाइएको छ जसलाई रंगमहल भनिन्छ । यो रंगमहल २ तलाको रहेको छ ।

Picture: Manfred Sommer
रंगमहल (बिचमा) । तस्विर सौजन्य: म्यानफ्रेड सोमर/फ्लिकर

रंगमहलको बनाउन भूईतलामा छत्रशाहले लगाई कालिकालाई चढाएको वि.सं. १६६६ को अभिलेख सहितको दुईवटा नगरा राखिएको छ । भने एकवटा वि.सं. १७७१ को अभिलेख अंकित तोपको भाग राखिएको । पहिलो तलामा राजपरिवारहरुले रंगमहलको पटांगिनीमा हुने नाचगान उत्सव र वडा दशैंको टीकाको दिन टिका प्रसाद ग्रहण गरिसकेपछि यस स्थानकाबाट रंग भरेको पानी र अविर वर्षाई होली खेल्ने परम्परा रहेको छ । हालसम्म पनि होली खेल्ने परम्परा यथावत कायम रहेको छ ।

रंगमहलको दोस्रो तला मूल दरवार कालिका मन्दिर जाने भित्रको बाटोको रुपमा प्रयोग गर्ने गरिन्छ भने कन्या पूजा र कन्यालाई भोजन पनि यसै तलामा गर्ने गरिन्छ ।

३. गोरखकाली मन्दिर: अलौकिक शक्तिशाली देवताको रुपमा मान्दै आएको यी देवीको प्रतीकलाई कास्की, लम्जुङ गर्दै गोरखासम्म ल्याएको लोक विश्वास रहेको छ । द्रव्य शाहले गोरखामा राज्य प्राप्त गरेपछि लम्जुङ दरवारबाट उक्त शक्ति चोरेर ल्याईएको भन्ने एकखालको किम्वदन्ती पाइन्छ भने वंशावलीमा सो प्रतीकलाई वत्तीमा जागा गराएर गोरखा दरवारको पूजाकोठामा ल्याई पुर्याउने प्रयास तेस्रो पटक मात्र सफल भएको आदि कुरा लेखिएको छ । गोरखकालीको प्रतीकलाई गोप्य पूजाकोठामा राखिने हुँदा दर्शनार्थी र भक्तजनहरुले मन्दिर खण्डको दक्षिणतर्फको ढोकामा पूजाआजा गर्ने चलन छ । गोरखकालीको नामले प्रसिद्ध यो मन्दिर पूर्वाभिमुख रहेको छ ४ तला रहेको यो मन्दिर भनिएता पनि मूल दरवारको वास्तुशैली जस्तै गरी बनाइएको छ यसको छानामा धातुको गजुर राखिएकोले मन्दिर भन्ने बुझिन्छ । कालिका मन्दिरभित्र पनि विभिन्न कोठाहरु रहेका छन् । जुन यस प्रकार छ :-

Picture: Manfred Sommer
गोरखकाली मन्दिर (बायाँ पट्टि) । तस्विर सौजन्य: म्यानफ्रेड सोमर/फ्लिकर

बली तथा पाठ गर्ने कोठाः गोरखकाली मन्दिरको दुईवटा प्रवेश द्वार रहेको छ जुन पूर्वतिर फर्काएर बनाइएको छ । बाँयातर्फको ढोकामा गोरखकालीको प्रतीक मानी सर्वसाधारणहरुले पूजा गर्ने गर्दछन् भने दायाँतर्फको ढोकाबाट मन्दिर प्रवेश गरी भित्र गएपछि बाँयाढोकाको अगाडि पुगिन्छ जहाँ सर्वसाधारणले भाकल गरी ल्याएको वली यसै स्थानमा दिने प्रचलन छ । यो वली दिने कोठा लामो रहेको छ । ढोका छेउमा वली दिईन्छ भने वली दिने ठाउँभन्दा अलि पर पर्व पर्वमा ब्राह्मणहरु द्वारा पाठ गर्ने गरिन्छ ।

डम्बर कोठा: बलीकोठाबाट सिधै पश्चिमतर्फ एउटा सानो कोठा रहेको छ जसलाई डम्बर कोठा भनिन्छ । यो कोठा ज्यादै होचो लगभग ५ फिट मात्र रहेको छ । यस कोठालाई राजा डम्वर शाहले बनाउन लगाएको भनिन्छ । डम्बर शाह ज्यादै छोटो कदको भएकोले कोठा पनि होचो बनाएको भनिन्छ, तर यस कुरा पुष्टि गर्ने कुनै पनि आधार छैन । यस डम्बर कोठामा भगवतीको पूजाका लागि चन्दन घोट्ने पूजा सामान मिलाउने कार्य गरिन्छ ।

टीकापाती कोठा: डम्बर कोठासंग उत्तरतर्फ टाँसिएर अर्को सानो कोठा रहेको छ जसलाई टीकापाती कोठा भनिन्छ । यस कोठा बडा दशैंको टीकाको दिनमा भगवतीकोठा राखिएको जमराको अभिषेक गरी मूल ब्राह्मणद्वारा पहिला राजालाई टीकापाति लगाइदिने प्रचलन रहेकोमा हाल आएर गोरखा दरवारका प्रमुखलाई टीकापाती लगाईदिने प्रचलन रहँदै आएको छ । मूल ब्राह्मणद्वारा टीका ग्रहण गरिसकेपछि दरवारका प्रमुखबाट कालिका मन्दिरका भिरकोटे सुसारे र भित्रीया सुसारेहरुले टीका ग्रहण गर्दछन र अन्य दरवारका कर्मचारीहरुले मूल दरवारको भण्डारकोठामा वसी दरवारका प्रमुखको हातबाट टीका ग्रहण गर्ने परम्परा रहेको छ।

पूजाकोठा: टीकापाती कोठाको पूर्वतर्फ अर्को कोठा रहेको छ जसलाई मुख्य पूजाकोठा भन्ने गरिन्छ । यस पूजाकोठामा दैनिक नित्य पूजा गर्ने गरिन्छ । यस पूजाकोठामा चैतेदशैको एक दिन र बडा दशैंको नौरथाभरि कालिभगवतीलाई कैलाशकोठाबाट ल्याई विराजमान गराइन्छ । यस पूजाकोठमा मुल ब्राह्मण पुजारी र भिरकोटे सुसारे र भित्रिया सुसारेहरु बाहेक अन्य प्रवेश गर्न पाईदैन

वायू कोठा: गोरखकाली मन्दिरको भूँईतलाको वली दिने ठाउँको अगाडि काठको भर्याङ चढी पहिलो तलामा पुगिन्छ । यस तलाको दक्षिण तर्फको ढोकाबाट भित्र प्रवेश गरेपछि बाँयातर्फ एउटा कोठा रहेको छ जसलाइ वायुकोठा भनिन्छ । यस वायुकोठामा पृथ्वीपतिका कान्छा छोरा रणदुर्लभ शाहले आत्महत्या गरेकोले पितृ शान्त पार्न वायु कोठा बनाएको भन्ने भनाई छ । यस वायुकोठाको ढोकामाथि यस वायुकोठामा प्रवेश गरेमा अनिष्ट हुने भनी अभिलेख समेत राखिएको छ ।

भित्रीकोठाः वायु काठा अगाडि दुई कोठा रहेको छ यो कोठा कुन प्रयोजनका लागि प्रयोग हुन्थ्यो भन्ने सम्बन्धमा स्पष्ट छैन ।

भान्छाकोठाः गोरखकाली मन्दिरको दोस्रो तला पूरै खुला अवस्थामा रहेको लामो ठुलो कोठा छ यस कोठालाई भान्छा कोठा भनिन्छ । यस भान्छाकोठामा बडा दशैं भरि भिरकोटे सुसारे र भित्रिया सुसारेहरुले दैनिक कालिका मन्दिरमा पूजा गर्नु पर्न भएकोले यहि कोठामा खाने सुर्खे गर्दछन् ।

४. गोरखनाथ मन्दिरः गोरखा मूल दरवारको पूर्वपट्टि एउटा गुफामा मन्दिर बनाइएको छ जसलाई गोरखनाथ मन्दिर तथा गुफा भनिन्छ । यस गोरखनाथ गुफासंग पृथ्वीनारायण शाहको कथा जोडिएको छ । एक दिन पृथ्वीनारायण शाह झ्यालमा बसी राखेको समयमा कसैले बोलाएको सुनी उनी भर्याङबाट नओर्ली सिधै आवाज आएको ठाउँतिर गएर हेर्दा एकजना जोगीले उनलाई बोलाई दही ल्याउन लगाएको र पृथ्वीनारायाण शाहले दही ल्याई जोगीलाई दिएको जागीले सो दही खाई पुनः ओकली पृथ्वीनारायण शाहलाई हात थाप्न लगाइए ओकली दिएपछि खान आग्रह गर्दा पृथ्वीनारायण शाहले दिगमिग मान्दा खुट्टामा खसेको र जोगीले यो दही खाएको भए जे बोल्यो त्यही पुग्ने थियो तर यो तिम्रो खुट्टामा खस्यो तिमी जुन भूमिमा टेक्छौ त्यो तिम्रो हुनेछ भनी आशिर्वाद दिएको भनी किम्वदन्ती रहेको छ । ठूलो ढुंगा मुनि रहेको गोरखनाथ मन्दिरको मूल गर्भगृहमा दैनिक कनफट्टा योगीहरुद्धारा गोरक्षसहस्रनाम पाठ र पूजा हुन्छ । त्यसैगरी श्रावण महिनामा ४ दिनसम्म र शिवरात्री तथा चण्डीपूर्णीमाका दिनसमेत ती योगी तथा अन्य साधु सन्तहरुलाई गोरखा दरवारमा भण्डारा खुवाईन्छ ।

Picture: Nabin Babu Gurung
गोरखनाथ मन्दिर । तस्विर सौजन्य: नवीनबाबु गुरुङ/सेतोपाटी

५. पण्डितपाटी: मूल दरवारको बायाँतर्फ पण्डित पाटी रहेको छ । यसभित्र नृसिंहको सानो मूर्ति पनि रहेको छ । यो पण्डित पाटी ब्राह्मणहरुलाई वरणी गर्ने प्रयोजनका लागि प्रयोग हुने गर्दथ्यो ।

६. दमाईपाटीः दरबार प्रवेश गर्ने दक्षिण तर्फको गेट अगाडि एउटा सानो पाटी रहेको छ जसलाई दमाई पाटी भनिन्छ । यस पाटीमा कालिका मन्दिर र गोरखनाथ मन्दिरमा पूजा हुने समयमा बाजा बजाउने गरिन्छ ।

७. शीतलपाटी: दरवार प्रवेश गर्ने दक्षिण तर्फको गेट अगाडि एउटा ज्यादै आकर्षक घर रहेको छ जसलाई शीतल पाटी भनिन्छ । यस शीतल पाटी विश्रामस्थलका रुपमा प्रयोग गरिन्छ । सर्वसाधारणलाई यसमा प्रवेश गर्न रोक लगाइएको छ । भनिन्छ तत्कालन राज परिवारका सदस्यहरु आउँदा यस स्थानमा विश्राम गरेपछि कालिका मन्दिर दर्शन जाने गर्दथे ।

८. रोटपाटी: गोरखा दरवार परिसरमा रहेको गोरखनाथ मन्दिर अगाडि एउटा पाटी रहेको छ जसलाई रोटपाटी भनिन्छ । यस पाटीमा गुरु गोरखनाथलाई दैनिक चढाउने रोट पोल्ने, पकाउने तथा धुनि जगाउने गरिन्छ ।

Picture: Manfred Sommer
रोटपाटी । तस्विर सौजन्य: म्यानफ्रेड सोमर/फ्लिकर

९. चौघेरा दरवारः गोरखा रोटपाटीको ठीक पूर्वपट्टि तल्लो भागमा एउटा ज्यादै आकर्षक चारैतिर घेरेर बनाएको घर छ जसलाई चौघेरा भवन भनिन्छ । यो चौघेरा भवन पृथ्वीपति शाहको समयमा बनेको भनिन्छ । अतिथिहरुको सत्कारको लागि बनाइएको यस भवनमा राजसंस्था रहिन्जेल पनि राजपरिवारका सदस्यहरु यहाँ आएर बस्ने गरेको देखिन्छ ।

चौघेरा दरवार (हाल:गोरखा दरबार हेरचाह अड्डा) । तस्विर सौजन्य: आर. एस./गुगल म्याप्स

१०. श्रीविद्याको मन्दिरः गोरखा दरवारको पूर्वतर्फ रहेको चौघेरा दरवारको पूर्वपट्टि कँदिएका प्रस्तरद्वारा निर्माण गरेको सानो मन्दिर छ, जसलाई श्रीविद्याको मन्दिर भनिन्छ । श्री विद्यालाई त्रिपुरासुन्दरी पनि भनिन्छ जुन दश महाविद्यामध्येकी एक हुन् ।

श्रीविद्याको मन्दिर (दायाँ पट्टि) । तस्विर सौजन्य: कृष्ण प्रसाद/गुगल म्याप्स

११. हनुमान भञ्ज्यांगः दरवार प्रवेश गर्ने पुर्वतर्फको मूल गेटको अगाडिको भागलाई हुनमान भञ्ज्याङ भनिन्छ । यहाँ पृथ्वीपतिलें स्थापना गरेको लगभग साढे ५ फिटको प्रस्तरको हनुमानको मूर्ति रहेको छ । गोरखा दरवार दर्शन गर्न आउने भक्तजनहरुले आफ्नो अन्न वाली बाँदरले नखाओस भनी हनुमानलाई मकै चढाउने गर्दछन् ।

Picture: Manfred Sommer
हनुमान भञ्ज्यांग । तस्विर सौजन्य: म्यानफ्रेड सोमर/फ्लिकर

१२. योगी नरहरीनाथले राख्न लगाएको अभिलेख: यो अभिलेख योगी नरेन्द्रनाथले नरेन्द्रनाथले राख्न लगाएका हुन् । यस अभिलेखमा नेपाल राज्य, गोरखा र शाह राजाहरुको प्रसंङ्ग उल्लेख गरिएको छ ।

Picture: Manfred Sommer
योगी नरहरीनाथले राख्न लगाएको अभिलेख । तस्विर सौजन्य: म्यानफ्रेड सोमर/फ्लिकर

१३. गणेशथानः गोरखा दरवारको पश्चिमपट्टि रामशाह चौतारा जाने बाटोमा गणेश मन्दिर रहेकोछ । पूर्वाभिमुख रहेको यो मन्दिर नरभूपाल शाहको पालामा बनेको भनिन्छ । मन्दिरको गर्भगृहमा पूर्णकदको प्रस्तरको गणेश रहेको छ जसलाई जिल्लाकै सवैभन्दा ठुलो गणेश मूर्ति मानिन्छ ।

Picture: Nabin Babu Gurung
गणेशथान (अगाडि पट्टिको मन्दिर) । तस्विर सौजन्य: नवीनबाबु गुरुङ/सेतोपाटी

१४. रामशाह चौतारो: गोरखा मुल दरवारको पश्चिम र तल्लोकोटको पूर्वमा एउटा प्लेटफर्म छ जसमा राजा रामशाहको शालिक राखिएको छ । भनिन्छ राजा राम शाहले यही स्थानबाट आफ्ना जनतालाइ कचहरी, सभा सम्मेलन, न्याय निशाफ दिने गर्दथे ।

Picture: Nabin Babu Gurung
रामशाह चौतारा । तस्विर सौजन्य: नवीनबाबु गुरुङ/सेतोपाटी

१५. तल्लोकोट: द्रव्यशाहले वि.सं. १६१६ मा विजय गर्नुअघि यहाँ खड्का राजाको कोट र दरबार थियो । द्रव्य शाहले खड्का राजालाई जितेपछि उनले ४ वर्ष सम्म यही तल्लोकोटबाट शासन सञ्चालन गरेको बुझिन्छ । यहाँ सुरक्षा पर्खालको बीचमा कोट घर छ । पुरानो दरबारका भग्नावशेष यहाँ हाल देख्न नसकिएता पनि यस कोटले ठूलो महत्वबोकेको छ । बडा दशैंको अवसरमा वली सहितको पूजा सञ्चालन हुने गरेको छ ।

तल्लोकोट (माथि पट्टि देखिएको डाँडो) । तस्विर सौजन्य: अमुल्य तिवारी/निजि स्रोत

१६. उपल्लोकोटः गोरखा बैशाख १२ गतेको विनाशकारी भुकम्पबाट पूर्ण रुपमा क्षति भएकोले पूनः निर्माणको गरिएको हो ।

Picture: Ashish Shrestha
उपल्लोकोट । तस्विर सौजन्य: आशिस श्रेष्ठ/फोटो वाल्कर्स गोरखा

१७. वज्रभैरव थानः बज्र भैरवको प्राचीनता लिच्छवि कालसम्म पुग्दछ । शिवदेव द्वितीयकोगोरखनाथ गुफामा रहेको संवत १२२ (वि.सं. ७५५) को शिलालेखमा बज्र भैरवको उल्लेख भएबाट सो समयभन्दा अगीड देखिने यी देवता लोकप्रिय हुँदै आएको स्पष्ट हुन्छ । लिच्छविकालदेखि हालसम्म वज्र भैरवको ऐतिहासिक परम्परा कायम देखिन्छ । अर्कोतर्फ द्रव्यशाहले उपल्लोकोट जितेपछि यहीं दरबार बनाई शासन गरे । रामशाहले माझकोटमा दरबार बनाउनु अगाडिसम्म यो उपल्लोकोट दरबारबाट नै गोरखा राज्यको शासन सञ्चालन भएको मानिन्छ ।

Picture: Manfred Sommer
वज्रभैरव थान । तस्विर सौजन्य: म्यानफ्रेड सोमर/फ्लिकर

१८. चण्डी थानः गोरखा दरवारबाट उपल्लोकोट जाने बाटोमा एउटा चौतारा रहेको छ यही चौतारा अगाडि चण्डी थान रहेको छ यस स्थानमा बैशाख पूर्णीमाका दिन सुंगुरको बली सहितको पूजा हुने गर्दछ ।

Picture: Nabin Babu Gurung
चण्डी थान । तस्विर सौजन्य: नवीनबाबु गुरुङ/सेतोपाटी

विश्व सम्पदाको सम्भाव्य सूचीमा रहेको गोरखा दरवार र यस क्षेत्रको संरक्षण एंव व्यवस्थापनका लागि नेपाल सरकारले चार किल्ला खोली संरक्षित स्मारक क्षेत्र घोषण गरेको छ । गोरखकाली मन्दिर, गोरखनाथ जस्ता धार्मिक महत्वका शाक्त र नाथ सम्प्रदायसंग सम्बन्धित यहाँ अवस्थित मन्दिरहरुमा विशेष तथा नैमित्तिक पूजा, परम्परा अक्षुर्ण रुपले चल्दै आएकोमा सोको निरन्तरता तथा विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने आधारलाई संरक्षण गर्नु हामी सवैको दायित्व भित्र पर्दछ ।

गोरखा दरबार हेरचाह अड्डा, गोरखा

फो. ०६४-४२१५९१/०६४-४२०१८८

 

लेखक: अमुल्य तिवारी । प्रकाशित मिति: २०८०/१२/०८ दिउसो ४:२५ बजे 

Loading...