Official Website of NEB Result & News

स्कटल्यान्डमा फ्रेन्चाइज लिग खेल्न नेपालका दीपेन्द्र छनोट

काठमाडौँ । नेपालका प्रतिभावान अलराउन्डर दीपेन्द्रसिंह ऐरी स्कटल्याण्डमा हुने फ्रेन्चाइज क्रिकेट खेल्न छनोट भएका छन् । दीपेन्द्र आगामी अगस्टमा हुने स्कटिश सुपर १० लिगमा प्रतिष्ठित पर्थ रोयल्स टोलीमा सामेल हुनेछन् ।

स्कटिश सुपर-१० प्रतियोगिता अगस्ट १६ देखि ३१ सम्म हुने छ, जसमा ६ वटा फ्रान्चाइजी टोलीहरू छन् । उक्त प्रतियोगितामा अफगानिस्तानका राशिद खान र रहमानुल्लाह गुरबाज, पाकिस्तानका नसिम शाह र इङ्ल्यान्डका एलेक्स हेल्स जस्ता शीर्ष अन्तर्राष्ट्रिय खेलाडीहरुले खेल्ने छन् ।

दीपेन्द्र नेपाली क्रिकेट टिमका प्रमुख खेलाडी हुन् । अन्तर्राष्ट्रिय टी-२० मञ्चमा उनले राम्रो प्रदर्शन गर्दै आइरहेका छन् । उनले सेप्टेम्बरमा मंगोलिया विरुद्ध क्रिकेट इतिहासमा सबैभन्दा छिटो अर्धशतक (मात्र ९ बलमा) हानेर कीर्तिमान कायम गरेका थिए । साथै दुई महिनाअघि एसीसी प्रिमियर कपमा कतारविरुद्ध एकै ओभरमा ६ छक्का पनि  हानेका थिए ।

बलिङ, ब्याटिङ र फिल्डिङमा उल्लेखनीय सीप र प्रतिभा देखाउँदै दीपेन्द्रले खेलका सबै पक्षमा असाधारण प्रदर्शन गर्दै आएका छन् । पावर प्ले, मिडल अर्डर र डेथ ओभरमा उनि राम्रो प्रदर्शन गर्दै आइरहेका छन् ।

यसबाहेक, दीपेन्द्रले अन्तर्राष्ट्रिय लिग टी-२० युएई र ग्लोबल टी-२० क्यानडा जस्ता प्रतिष्ठित लिगहरूमा पनि खेली सकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा