एनपीएलका लागि सुदूरपश्चिमले भित्र्यायो श्रीलंकाली ब्याटर थनुका दबार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले श्रीलंकाका अलराउन्डर थनुका दबारेलाई टोलीमा अनुबन्ध गरेको छ। आक्रामक ब्याटिङका लागि परिचित दबारेले प्रतियोगितामा सुदूरपश्चिमको शीर्ष क्रम सम्हाल्ने अपेक्षा गरिएको छ।
श्रीलंकाको घरेलु क्रिकेटमा अनुभव बटुलेका दबारेले प्रथम श्रेणी, लिस्ट ए र टी–२० तीनै प्रारूपमा खेलिसकेका छन्। उनले ५० टी–२० खेलमा ९२३ रन बनाएका छन्, जसमा एक शतक र पाँच अर्धशतक समावेश छन्। यस प्रारूपमा उनको स्ट्राइक रेट १४२.६५ रहेको छ भने बलिङतर्फ २६ विकेट लिएका छन्।
त्यस्तै, ६७ लिस्ट ए खेलमा १ हजार ६७८ रन र ६३ विकेट आफ्नो नाममा लेखाएका दबारेले ४९ प्रथम श्रेणी खेलमा २ हजार २७५ रन बनाउनुका साथै ११ विकेटसमेत लिएका छन्।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले दबारेको अनुबन्धले टोलीको ब्याटिङ क्षमतालाई थप मजबुत बनाउने बताएका छन्। उनको आक्रामक शैली र अन्तर्राष्ट्रिय अनुभवले टोलीको शीर्ष क्रमसँगै समग्र ब्याटिङमा गहिराइ थप्ने अपेक्षा क्लबले गरेको छ।