१० दिनभित्र एसईईको नतिजा आउने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कम्तीमा १० दिनभित्र यस वर्षको एसईईको नतिजा सार्वजनिक गर्ने तयारी थालेको छ ।
गत वर्ष ५ लाख १४ हजार विद्यार्थीले एसईई दिएका थिए । हाल उत्तरपुस्तिका परीक्षणको काम सम्पन भएको र प्राप्ताङ्क इन्ट्रीको काम भइरहेको परीक्षा नियन्त्रक गणेशप्रसाद भट्टराईले जानकारी दिनुभयो । त्यसपछि रूजुको काम हुनेछ ।
२९ दिनको शिक्षक आन्दोलनका कारण एसईईको उत्तरपुस्तिका परीक्षणमा ३२ दिन ढिलो भए पनि असार तेस्रो साताभित्र नतिजा प्रकाशन गर्ने गरी तीव्र गतिमा काम भइरहेको परीक्षा नियन्त्रक भट्टराईले बताउनुभयो ।
गत २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी थिए । नतिजा प्रकाशनमा भएको ढिलाइले कक्षा ११ को भर्ना प्रक्रिया पछि धकेलिने भएको छ ।
बोर्डले वार्षिक कार्य तालिका अनुसार २०८२ असार ६ गतेभित्र नतिजा प्रकाशन गर्ने र असार २२ गतेसम्म पुनर्योग गर्ने तथा साउन १२ गते पुनर्योगको नतिजा प्रकाशन गर्ने रहेको थियो । साउन १९ र २० गते पूरक परीक्षा सञ्चालन गर्ने र भदौ २० गतेभित्र पूरक परीक्षाको नतिजा प्रकाशन गर्ने कार्यतालिका थियो । तर, नतिजा प्रकाशनमा ढिलाइ हुने भएपछि अन्य कार्यक्रममा समेत ढिलाइ हुने देखिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?