त्रिविमा ७६ सय कर्मचारी, पनिका भन्छ: जनशक्ति अभावले नतिजा ढिलो
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले त्रिविमा ७ हजार ६७४ जना कर्मचारी रहेको जनाएको छ । त्रिविका उपकुलपति प्राडा केशरजंग बरालले सार्वजनिक गरेको त्रिविको सञ्चालन र व्यवस्थापनसम्बन्धी सोचपत्रमा हाल उक्त संख्यामा कर्मचारी रहेको उल्लेख छ ।
यस्तै, ५ अध्ययन संस्थान, ४ संकाय र अनुसन्धान केन्द्रहरूमा ८ हजार ३४० शिक्षकहरू रहेको पनि त्रिविले जनाएको छ । यसको अतिरिक्त आंगिक क्याम्पसहरूमा करारमा, कोर्स करारमा र आंशिकमा शिक्षकहरू ठूलो संख्यामा रहेको सोचपत्रमा उल्लेख छ ।
‘आंगिक क्याम्पसहरूले ठूलो संख्यामा विश्वविद्यालयको स्वीकृति लिएर आन्तरिक स्रोतबाट तलब दिने गरी करारमा शिक्षकहरूलाई नियुक्ति दिएको छ, विश्वविद्यालयहरूमा केही केन्द्रीय विभागहरूमा र आङ्गिक क्याम्पसहरूमा केही शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी छैनन् र शिक्षकमात्र छन्, कहीँ विद्यार्थी संख्याभन्दा बढी शिक्षक छन्,’ सोचपत्रमा उल्लेख छ ।
ठूलो संख्यामा कर्मचारीहरू रहे पनि त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले भने समयमा नतिजा प्रकाशन नभएको विषयमा जिज्ञासा राख्दा कर्मचारी थोरै भएकाले ढिलाइ हुने जवाफ दिँदै आएको छ । पनिकाले परीक्षा लिएको एक वर्षभन्दा बढी समयसम्म पनि नतिजा प्रकाशन नगर्ने समस्या कायमै छ ।