के बलात्कार मुद्दाकै कारण सन्दीपको भिसा रिजेक्ट भएको हो, आउनुहोस् बुझौँ

काठमाडौं । नेपालको क्रिकेट टिम टी-२० विश्व कप खेल्नको लागि अमेरिकामा छ तर नेपालको स्टार बलर सन्दीप लामिछाने भने नेपालमै छन् ।

उनी अमेरिका जान पाएका छैनन् । जसले गर्दा विश्व कप खेल्ने उनको सपना र सन्दिपले खेलिरहेको हेर्ने कयौ नेपालीको चाहना यो पटकलाई पुरा नहुने भएको छ ।

यो सबैको कारण अमेरिकाले उनको भिसा दुई पटक रिजेक्ट गरिदिनु हो ।

बलात्कारको मुद्दामा काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गरेर सजाय तोकेपछि सन्दिप लामिछाने क्रिकेट टिमबाट निलम्बनमा परेका थिए ।

त्यसपछि लामो समय उनी क्रिकेटको मैदान बाहिर भए र केही समय अघि मात्र उनलाई उच्च अदालतले बलात्कारको मुद्दामा सफाई दियो।

तर, त्यस अघि नै नेपालको क्रिकेट टिम वर्ल्ड कप तयारीका लागि नेपालबाट अमेरिका गइसकेको थियो ।

त्यसैले उनले सफाई पाउने बित्तिकै रातारात क्यानले उनको निलम्बन फुकुवा गर्दै विश्व कपमा सहभागी गराउन आइससीको स्वीकृति लिने प्रक्रिया सुरु गर्यो ।

आइससीले सन्दिपलाई सहभागी गराउन स्वीकृति पनि दियो ।

आइससीको स्वीकृति पछि नै विश्व कप खेल्न जानका लागि सन्दिपले अमेरिकाको भिसा अप्लाई पनि गरे र जेठ ९ गते इन्टरभ्यु दिन गए तर इन्टरभ्युको नतिजा राम्रो आएको थिएन ।

त्यसबेला सन्दिपले स्टाटस लेखेका थिए, “अमेरिकी दूतावासले फेरी २०१९ मा जस्तै गर्यो । दूतावासले टी-२० विश्व कपमा सहभागी हुनका लागि मैले अप्लाई गरेको भिसा दिन अस्वीकार गरिदियो ।”

त्यसपछि क्यानको अनुरोधमा खेलकुद मन्त्रालय र परराष्ट्र मन्त्रालय लगायतले उनलाई भिसा दिलाउनको लागि पहल सुरु गर्यो ।

त्यसैपछि नै जेठ १७ गते फेरी भिसा इन्टरभ्यु लिनका लागि दूतावासले सन्दिपलाई बोलायो । यसपटक उनले भिसा पाउने आशा गरिएको थियो तर यसपटक पनि उनको भिसा रिजेक्ट भयो ।

तर, सन्दीपको लागि अमेरिकाको भिसा रिजेक्ट हुनु नौलो कुरा होइन । यो भन्दा अघि सन् २०१९ मा पनि क्यारिबियन प्रिमियर लिग खेल्नका लागि भिसा अप्लाई गर्दा पनि उनको भिसा रिजेक्ट भएको थियो ।

त्यतिबेला पनि आफुले भिजा नपाएको भनेर सन्दिपले सोसल मिडियामा पोस्ट गरेका थिए । त्यसपछि अहिले जस्तै नेपाली फ्यानहरुले एकदमै चर्को विरोध गरेका थिए र पछि केही त्रुटी भएको भन्दै दूतावासले फेरी बोलाएर सन्दिपलाई भिसा दिएको थियो ।

सन्दिपलाई अमेरिकाले यो पालि २०१९ मा जस्तो गरि दोस्रो पटकमा पनि भिसा दिएको छैन र कारण पनि बताएको छैन ।

अमेरिकाले सन्दिप लामिछानेको भिसा रिजेक्ट गरेको कारण बुझ्नु भन्दा अघि अमेरिकाले भिसा रेजेक्ट गरेको केहि ठुला व्यक्तिहरुको भिसा रिजेक्ट हुनुको कारण बुझौँ । 

के कारणले भएको थियो म्याराडोनाको अमेरिकाको भिसा रिजेक्ट ?

डिएगो म्याराडोना संसारकै सबैभन्दा महान फुटबलरहरु मध्येका एक हुन् । उनी सन् २०१४ मा आफ्नो पुरै परिवारको साथ फ्लोरिडामा भएको डिजनी वर्ल्डमा फ्यामिली ट्रिपमा जाने योजनामा थिए ।

जब यसका लागि उनले अमेरिकाको भिसा अप्लाई गरे उनले भिसा पाएनन् र फेमिली ट्रिप नै क्यान्सल गर्नु पर्यो तर अमेरिकाले यो पहिलो पटक उनको भिसा एप्लिकेसन रद्द गरेको थिएन ।

त्यस अघि र पछि उनले भिसा पाउनको लागि प्रयास गरिरहे तर कहिले पनि पाएनन् । सन् २०१८ मा पनि उनले भिसा अप्लाई गरेका थिए ।

त्यसबेला पनि उनलाई भिसा दिइएन, नत कहिले पनि उनलाई उनको भिसा के कारणले गर्दा रिजेक्ट भएको भनेर नै भनियो। तर, इतिहास र ब्याकग्राउन्ड केलाउदा त्यसको कारणहरु अनुमान गर्न सकिन्छ ।

हामीले म्याराडोनाको रिजेक्सनको कारण थाहा पाउन १९९४ को वर्ल्ड कप फुटबल हेर्नुपर्छ । जुन अमेरिकामा भएको थियो ।  त्यतिबेला ड्रग्सको प्रयोग गरेको पाइएपछि बाँकी विश्व कपबाट ब्यान भएका म्याराडोनाले अमेरिका छोड्नु परेको थियो ।

समयसँगै मेराडोना फुटबलबाट रिटायर्ड भए ड्रग्स त्यागे तर त्यसपछि पनि उनलाई अमेरिकाले जीवन भर फेरी अमेरिका जाने अनुमति दिएन ।

 

के कारणले भएको थियो नरेन्द्र मोदीको अमेरिकाको भिसा रिजेक्ट ?

सन् २००५ मा गुजरातको मुख्यमन्त्री भएको बेला मोदीले अमेरिकाको डिप्लोमेटिक भिसाको लागि अप्लाई गरेका थिए तर अमेरिकाले उनको भिसा रिजेक्ट गरिदियो ।

त्यस समय उनलाई सन २००२ मा भएको गुजरात दंगाको दोषी मान्दै अमेरिकाले उनलाई भिसा दिन अस्वीकार त गर्यो नै तर पहिले नै जारी भएको उनको बिजनेस तथा टुरिस्ट भिसा पनि रद्द गरिदिएको थियो ।

त्यसबेला प्रेस रिलिज जारी गरेरै अमेरिकी दतावासले मोदीको भिसा अस्वीकृत हुनुको कारण गुजरात दंगा हो भनेर सार्वजनिक गरेको थियो ।

सन् २०१२ मा एउटा अनुसन्धान गर्दै सर्वोच्च अदालतले मोदीको उक्त दंगामा संलग्नता नभएको भनेर उनलाई क्लिनचिट दिएको थियो र अमेरिकाले यात्रा प्रतिबन्ध खोल्नुपर्ने भनेर धारणा पनि राखेको थियो तर पनि अमेरिकाले आफ्नो प्रतिबन्ध जारी राखेको थियो ।

यसरी मोदीलाई अमेरिकाले १२ वर्ष सम्म नै भिसा दिएन अर्थात उनीमाथि प्रतिबन्ध लगाई रह्यो र एकै पटक सन २०१४ मा जब उनी भारतको प्रधानमन्त्री भए त्यसपछि मात्र उनीमाथिको प्रतिबन्ध हटाइयो ।

 

के कारणले भएको थियो राजा त्रिभुवनको अमेरिकाको भिसा रिजेक्ट ?

सन् १९५४ मा उपचारका लागि अमेरिका जान चाहेका तत्कालीन राजा त्रिभुवन वीरविक्रम शाहले बहुविवाह गरेकै कारण भिसा नपाएको विवरणसहितको रिपोर्ट २०७४ साउनमा हिमाल खबरमा छापिएको छ ।

जसमा अमेरिकाको कानुनको खण्ड २१२ मा  ‘एकसाथ दुई पत्नी वा पति भएका व्यक्ति’ लाई भिसा नदिने व्यवस्था गरिएको कारण भिसा नपाएको भनिएको छ ।

 

मोदी,  राजा त्रिभुवन र म्याराडोना मात्र होइन। अमेरिकी भिसा रिजेक्शन सहिसकेका संसार भरि थुप्रै सेलिब्रिटी र चर्चित व्यक्तिहरु छन् र तिनकै लिस्टमा अब सन्दिप लामिछानेको पनि नाम लेखिएको छ ।

 

किन अमेरिकाले गर्यो सन्दिप लामिछानेको भिसा रिजेक्ट ?

अमेरिकाले सन्दिप लामिछानेको भिसा किन रिजेक्ट गरेको हुन सक्छ भनेर बुझ्नका लागि हामीले अमेरिकाको भिसा कानुन र प्रक्रिया हेर्नुपर्ने हुन्छ ।

अमेरिकाको भिसा लिनको लागि अमेरिकी कन्सुलेट वा दूतावासहरुमा आवश्यक फर्म तथा डकुमेन्ट्सहरु सहित अप्लाई गर्नुपर्ने हुन्छ ।

त्यसपछि कन्सुलर अफिसरले त्यो डकुमेन्सहरुको अध्ययन गर्छन्, भिसा अप्लाई गर्ने व्यक्तिको इन्टरभ्यु लिन्छन् र उनीहरुको ब्याकग्राउन्ड पनि चेक गर्छन् र सबै कुरा हेरिसकेपछि मात्र भिसा दिने कि नदिने भनेर निर्णय गर्छन् ।

यसरी चेक गर्दा उनीहरुले अमेरिकाको इमिग्रेशन एण्ड नेसनलिटी एक्ट अनुसार कसलाई भिसा दिने र कसलाई नदिने भनेर तय गर्ने गरेका छन् ।

 

के कारणले कन्सुलर अफिसरले भिसा नदिन सक्छन् ?

अमेरिकाको कानुनको सेक्सन २१४ मा उल्लेख गरे अनुसार अप्लाई गर्न प्रयोग गरेको डकुमेन्ट्सहरु नक्कली छन् वा कुनै जानकारी गलत दिएको छ भने त्यस्तो व्यक्तिको भिसा सजिलै रिजेक्ट हुन्छ ।

कन्सुलर अफिसरलाई टेम्पोरेरी रुपमा जान लागेको कुनै व्यक्ति नेपाल फर्केर आउने छैन वा अमेरिकामै लुक्न सक्छ भन्ने लाग्यो भने पनि उसको भिसा रिजेक्ट हुन सक्छ ।

यी त भिसा रिजेक्ट हुन सक्ने सामान्य अवस्था वा कारणहरु भए यो बाहेक सेक्सन २१२ अनुसार अमेरिकी अफिसरले प्रवेश गर्न नमिल्ने अर्थात इनएडमिसिबल भनेर पनि भिजा रिजेक्ट गर्दिन सक्छ ।

यो भनेको चाहिँ सम्बन्धित व्यक्तिको ब्याकग्राउण्ड जोखिमपूर्ण वा शंकास्पद हुनु हो । यो सेक्सनमा कयौ कुराहरुको कारण कुनै पनि व्यक्ति इनएडमिसेबल हुन सक्छ भन्ने लेखिएको छ ।

जस्तो कुनै गम्भीर सरुवा रोग लागेको छ भने, जरुरी भ्याक्सिन नलगाएको देखियो भने, क्रिमिनल ब्याकग्राउन्ड भएको, सेक्युरिटीको हिसाबमा जोखिमपूर्ण भएको, त्यसभन्दा अघि अमेरिकामा गैरकानुनी रुपमा बसेको, इमिग्रेशन ल तोडेको वा कुनै अपराध गरेको छ भने उसको भिसा रिजेक्ट हुन्छ ।

तर, यो सेक्सन अनुसार कुनै पनि व्यक्तिलाई इनएडमिसेबल बनाउनको लागि कहिलेकाहीँ उसले कुनै समयमा देखाएको कुनै व्यवहार वा बोलेको कुराकानी पनि पर्याप्त हुन सक्छ र यस्तो अवस्थामा भिसा दिने कि नदिने भन्ने कुरा कन्सुलर अफिसरको बुझाई र अधिकारको कुरा हुने गर्दछ ।

 

सन्दिपको केसमा यी मध्ये के के लागु हुन सक्छ त ?

सन्दिपसँग २०२५ सम्म लागु हुने गरि दिइएको अमेरिकाको भिसा थियो तर उनलाई बलात्कारको मुद्दामा सजाई भएपछि अमेरिकाले त्यो रद्द गरिदिएको थियो र अहिले अदालतबाट सफाई पाए पनि अमेरिकाले उनलाई भिसा नदिनुको पछाडि उनको बलात्कार मुद्दा नै प्रमुख कारण हुन सक्छ ।

किनभने यो बाहेक सन्दीपलाई जान नदिनुपर्ने अरु कुनै कारण अमेरिकी इमिग्रेशन ल अनुसार देखिदैन ।

सन्दिपलाई लागेको बलात्कार मुद्दाको हिस्ट्री हेर्दा जब उनलाई त्यो आरोप लागेको थियो, उनी वेस्ट इन्डिजमा क्यारिबियन प्रिमियर लिग खेल्न गएका थिए । त्यो क्यारिबियन लिग पनि वेस्ट इन्डिज र अमेरिकामै आयोजना भइरहेको थियो ।

उनी विरुद्ध उजुरी परेपछि उनले क्यारिबियन लिगलाई बीचमै छोडेर फर्किने घोषणा गरे तर त्यसपछि पनि उनी लामो समय सम्म हराएका थिए ।

उनी त्यो समय कहाँ थिए भन्ने सार्वजनिक भएन । उनी त्यो समयमा अमेरिकामा नै बसेको पनि हुन सक्छन् ।

यदि उनले त्यसरी बलात्कारको आरोप लागिसकेपछि अमेरिकामा गएर बसेका हुन् भने त्यसले अमेरिकाको इमिग्रेशन ल तोडेको हिस्ट्री सेट हुन सक्छ र उनको भिसा रिजेक्ट हुने एउटा कारण यो पनि हुन सक्छ ।

यसरी उनी लामो समयसम्म नेपाल नफर्केपछि उनलाई पक्राउ गर्नको लागि नेपाल प्रहरीले त्यतिबेला फरार अभियुक्तको रुपमा इन्टरपोलमा डिफ्युजन नोटिस पनि जारी गरेको थियो ।

यस्तो नोटिसले पनि उनको ब्याकग्राउन्ड बिगार्न सक्छ र भिसा रिजेक्ट हुनुको अर्को कारण बन्न सक्छ ।

 

अदालतले सफाई दिसकेपछि पनि किन अमेरिकाले उनलाई भिसा दिएन ?

अदालतले सफाई दिसकेपछि पनि अमेरिकाले उनलाई अझै दोषी मानेर भिसा नदिनुको तीन वटा कारण हुन सक्छ । पहिलो कारण फैसला आए पनि फैसलाको पूर्ण पाठ आएको छैन ।

दोस्रो कारण यो फैसला अन्तिम होइन । अझ यो मुद्दा सर्वोच्च अदालतमा पनि जान सक्छ ।

तेस्रो कारण जसरी मोदीलाई सर्वोच्च अदालतले सफाई दिए पनि अमेरिकाले आफ्नै धारणालाई प्राथमिकता दिएर उनको ट्राभल ब्यान्डलाई जारी राखेको थियो । त्यस्तै सन्दिपको केसमा पनि अमेरिकी दूतावासको आफ्नै बुझाइ हुन सक्छ । जुन बुझाइमा उनी माथि लाएको मुद्दा त्यसपछि उनी फरार भएको अवस्था लगायतका कुराले प्रभाव पारेको हुन सक्छ ।

 

अमेरिका आफै विश्व कपको आयोजक भएर कुनै खेलाडीलाई भिसा नदिन मिल्छ र ?

कुनै पनि देशले विश्व कप जस्ता ठुला प्रतियोगिता आयोजना गर्दा त्यसमा सहभागी हुनको लागि भिसा प्रक्रियाहरु केहि खुकुलो बनाएको हुन्छ ।

अमेरिकी दुतावासले पनि नेपालका अन्य खेलाडीहरुको लागि अगाडि नै यस्तो प्रक्रिया पुरा गरिसकेको भनिरहेको छ र सन्दिपको केसमा भने अमेरिकी दूतावासले स्पष्ट कारण खुलाएको छैन ।

अमेरिकी दूतावासले अमेरिकी कानुनअनुसार भिजा सम्बन्धी अभिलेखहरु गोप्य हुने भएकाले हामी भिसाको कुनै एउटा केस विशेषमा टिप्पणी गर्न सक्दैनौ भनेर भनिरहेको छ।

तर, प्राय जस्तो अवस्थामा भिसाहरु रिजेक्ट गर्दा त्यसको कारण वा कुन कानुन अन्तर्गत भिसा रिजेक्ट गरिएको हो भनेर कन्सुलर अफिसरले सम्बन्धित व्यक्तिलाई जानकारी दिने गरेका हुन्छन् ।

सम्भवत: सन्दिपलाई पनि कुन कानुन अनुसार भिसा नदिएको भनेर जानकारी गराइएको हुनुपर्छ तर त्यस्तो अवस्थामा ठ्याक्कै यही कारण हो भनेर भनिएको छैन र कानुन मात्र बताइएको छ भने पनि ठ्याक्कै यही कारणले हो भनेर अनुमान गर्न वा लगाउन सकिदैन ।

 

जसरी नेपालमा आउन चाहने कुनै व्यक्तिलाई भिसा दिने कि नदिने भन्ने निर्णय हाम्रो सरकारी निकायहरुको हुन्छ । त्यसरी अमेरिकाको भिसा दिने कि नदिने भन्ने त्यो नितान्त अमेरिकाको कानुन र कन्सुलर अफिसरको निर्णयमा भर पर्ने हुन्छ ।

तर अहिले क्यान र सरकारले राम्रोसँग काम गरेनन्, सन्दीपलाई पठाउन खोजेनन् भन्ने जस्ता हल्लाहरु फैलिरहेका छन् । अमेरिकाले सन्दिपसँग डराएर भिसा दिएन जस्ता हावा गफहरु पनि चलिरहेका छन् ।

जबकि अमेरिकाको भिसा प्रणाली यस्तो छ कि यसमा अरु कसैले जति नै धेरै दबाब दिए पनि उनीहरुको आन्तरिक नीति उनीहरुले नचाहदा सम्म वा नबुझ्दा सम्म परिवर्तन हुदैन । प्रोजेक्ट कुराबाट 

 

लेखक