अमेरिकामा बेपत्ता रहेकी ममताको घटना के हो ?

सुरु देखि नै घटनामा के के भयो भनेर बिस्तृतमा पढ्नुहोस्

काठमाडौं  अमेरिकाको भर्जिनिया राज्यको मनासस पार्कबाट तिन सातादेखि बेपत्ता रहेकी २८ वर्षीया नेपाली नर्स ममता काफ्ले अझै भेटिएकी छैनन् । तर, प्रहरीले ममता काफ्लेको हत्या भएको र हत्याको आरोपी उनकै श्रीमान नरेश भट्ट हुन सक्ने अनुमान लगाएको छ ।

कहिले हराइन ममता र कहिले देखि खोजि कार्य थालियो 

ममता आफू काम गर्ने भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा अन्तिमपटक जुलाई २७ मा देखिएकी थिइन् । उनी जुलाई २८ सम्म साथीहरूसँग सम्पर्कमै रहेको भनिएको थियो ।

त्यसपछि सम्पर्कमा नआएपछि उनका साथीहरूले प्रहरीलाई खबर गरेका थिए । अगस्ट २ मा प्रहरी नरेश र ममता बस्ने मनासस पार्कस्थित घरमा पुगेका थिए । त्यतिबेला घरमा नरेश र उनीहरूका १ वर्षकी छोरी मात्रै थिए ।

नरेशले ममता बेपत्ता भएको निवेदन प्रहरीलाई दिन त्यतिबेला अस्वीकार गरेका थिए । ममता त्यसअघि पनि पटकपटक घरबाट बेपत्ता हुने गरेको बताएर नरेशले प्रहरीलाई फर्काइदिएका थिए ।

अगस्टको ५ तारिखमा मात्रै नरेशले आफ्नी श्रीमती बेपत्ता भएको निवेदन प्रहरीमा दिएका थिए । त्यसपछि प्रहरीले ममताको व्यापक खोजी गरेको थियो ।

पतिमाथि नै संका गर्दै घरमा प्रहरीको छापा 

बुधबार बेलुकीदेखि नै ममताका पति नरेश भट्टको घरलाई घेराबन्दी गर्दै प्रहरीले १२ घण्टा खानतलासी गरेको थियो । ममताका पति नरेश भट्टलाई पनि प्रहरीले शंकाको घेरामा राखेको छ ।

मनासस पार्कका प्रहरी प्रमुख मारियो लुगोले पत्रकार सम्मेलनमा ममताका पति भट्टले अनुसन्धानमा सहयोग नगरेको बताएका छन् । ममताको बेपत्ताबारे रिपोर्ट गर्न ढिलाइ गर्नुले पनि पतिलाई शंकाको घेरामा राखिएको बताइएको छ ।

ममताको श्रीमान पक्राउ 

श्रीमती ममता काफ्लेको ‘शव लुकाएको’ आरोपमा उनका श्रीमान् नरेश भट्ट पक्राउ परेका छन् । उनलाई विहिबार दिउसो प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।

कमनवेल्थ न्यायाधिवक्ताको कार्यालयसँगको परामर्शपछि गुप्तचरहरुले थप अनुसन्धानका लागि भट्टलाई पक्राउ गरेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले ममताको श्रीमानलाई उनको घरबाटै पक्राउ गरेर लैजादै ।

पति द्वारा घरमै हत्या भएको प्रहरीको अनुमान 

प्रहरीले ब्लुस्टार प्रविधिको प्रयोग गर्दा घरको बेडरुम र अन्य विभिन्न स्थानमा रगतका टाटा भेटिएका छन् । अनुसन्धानका क्रममा एक स्थानमा रगतको आहाल समेत रहेको र पछि सफा गरेको पाइएको छ ।

ओछ्यान र कार्पेटमा गुलाबी दागहरु देखिएपछि अनुसन्धान गर्दा ति रगतको टाटा भएको पाइएको पनि प्रहरीले उल्लेख गरेको छ । प्रहरीका अनुसार भट्टले ममतालाई मास्टर बेडरुममै चक्कु प्रहार गरी हत्या गरेको अनुमान छ ।

जुलाई ३० मा भट्टले स्थानीय वालमार्टबाट ३ वटा चक्कु र सरसफाइका सामान किनेका थिए । ति मध्ये दुईवटा चक्कु प्रहरीले घरमा फेला नपरेको जनाएको छ ।

बाथटबमा पनि रगत भेटिएको छ । तर, नरेशले ममताको हत्यापछि शव कहाँ लुकाएका छन् भन्ने अझै पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । सरकारी वकिलको कार्यालयमा नरेशको प्रारम्भिक बयान भएको छ ।

अधिकारीहरूले केही दिनअघि मात्रै नरेशले आफ्नो टेस्ला गाडी बेचेको र मनासस पार्कमा रहेको आफ्नो घर पनि बेच्ने प्रयास गरेको भेटिएको बताएका छन् ।

के हुदै छ मुद्धा 

नरेशका वकिलहरूले नरेशको आपराधिक पृष्ठभूमि नरहेको र लगाएको आरोपहरु पुष्टी हुने कुनै ठोस प्रमाण नरहेको बताउँदै धरौटीमा छाड्न अदालतसमक्ष आग्रह गरेका थिए ।

यद्यपि न्यायाधीशले भने नरेश प्रहरीकै हिरासतमा रहने आदेश गरेक‍ी छन् । उनलाई धरौटीमा छाड्ने नछाड्ने निर्णय गर्न सोमबार सुनुवाई हुने बताइएको थियो ।

नरेशले श्रीमती मृत्युको कति समयपछि बिहे गर्न मिल्छ भनेर खोजेको भेटियो

अमेरिकाको भर्जिनियाबाट ममता काफ्ले बेपत्ता हुनु महिनाअघि उनका श्रीमान् नरेश भट्टले गुगलमा ‘श्रीमतीको मृत्युको कति समयपछि विहे गर्न सकिन्छ’ भनेर खोजेको अनुसन्धान अधिकृतहरुले बताएका छन् ।

प्रहरी नियन्त्रणमा रहेका नरेशलाई अदालतमा उपस्थित गराएका बेला सरकारी पक्षका वकिलहरुले उनले कम्प्युटरबाट त्यसबारे गुगलमा खोजी गरेको जिकिर गरेका हुन् ।

कहाँ छिन् उनीहरुको एक वर्षीया छोरी 

ममता र नरेशको एक वर्षीया छोरी पनि रहेकी छिन् । ममता बेपत्ता र नरेश प्रहरी हिरासतमा रहेकाले उनीहरूका एक वर्षीया छोरीलाई भर्जिनियाकै एउटा सामाजिक संस्थाको (स्याहारकेन्द्रको) जिम्मा लगाइएको छ । प्रहरीले उनी स्वस्थ र सामान्य रहेको बताएको छ ।

नेपालमा रहेका ममताका आफन्तलाई अमेरिकाले आकस्मिक भिसा दिएको भर्जिनियाबाटै प्रकाशन हुने अखबार सेभेन न्युजले उल्लेख गरेको छ । नेपालबाट जाने ममताका आफन्तलाई बालिकाको जिम्मा लगाइने बताइएको छ ।

ममता बेपत्ता र नरेश प्रहरी हिरासतमा रहेकाले छोरीलाई स्याहारकेन्द्र लगिदै ।

के भन्छन् ममताको परिवार

काभ्रेको पनौती नगरपालिका–६, नमोबुद्धमा ममता काफ्लेकी बुबा कमल काफ्लेको चिया र तरकारी पसल रहेको छ । केहि दिन देखि उक्त पसलमा धेरै जना भेला भएर आफ्नी चेली ममतालाई सम्झेर रोइराखेका छन् । यस्तै अहिले  उक्त नमोबुद्ध गाउँ नै शोकमा डुबेको छ ।

ममताको बुबा कमल काफ्लेले छोरीको सास र लाश दुवै नपाएको कारण बिजोग भएको बताएका छन् ।

ममता काफ्लेको बुबा कमल काफ्ले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा