विपद्को मौका छोपेर माइक्रोको लुटधन्दा, दोब्बर भाडा तिर्न बाध्य छन् यात्रु

काठमाडौं । निरन्तरको बर्षातपछि आएको बाढीपहिरोका कारण केहि दिन लामो दुरीका यातायात ठप्प प्राय बन्यो । विशेष गरेर राजधानी काठमाडौं भित्रने र बाहिरिने ठूला र साना सबै यातायातका साधन अवरुद्ध बन्दा यात्रुलाई गन्तब्यमा पुग्न समस्या बनिरहेको थियो ।

शुक्रबारदेखि आइतबारसम्म निरन्तरको झरिका कारण अवरुद्ध बनेका सडकहरु सोमबारदेखि आंशिक खुले । नागढुंगा नजिकै झ्याप्ले खोलामा भयानक पहिरो जाँदा ३५ जनाले ज्यान गुमाए भने करोडौको धनमालमा क्षति पुग्यो । निरन्तरको प्रयासपछि पहिरो हटाएर आज सोमबारदेखि यातायातका साधन चल्न दिइयो ।

प्राकृतिक विपदबाट कोहि बाटोमै त कोही काठमाडौंमै रोकिएका यात्रुले आजदेखि राहत महसुस गरेका थिए तर यहि विपद केहि यातायात कम्पनी र सवारी साधनलाई कमाउ धन्दा गर्ने अवसर बन्न पुग्यो ।

बिहिबार गोरखाबाट ५ सय ८५ रुपैया टिकट काटेर माइक्रो चढेर काठमाडौं आएका एक यात्रु मानबहादुर गुरुङ (नाम परिवर्तन) शनिबार नै गोरखा फर्कने योजनामा थिए ।

तर पहिरोका कारण उनि सोमबारसम्म काठमाडौंमै रोकिन प¥यो । घरबाट खल्तीमा बोकेर ल्याएको खर्च शनिबारै सकिदा उनि थप समस्या परे । आफन्तसंग सापटी मागेर उनले सोमबारसम्मको खर्च टारे ।

सोमबारदेखि सवारी चल्न दिने सरकारी निकायको सूचना पाएर उनि दिउँसो गोंगबुस्थित बसपार्कमा रहेको दरौदी यातायात कम्पनी प्रालिको टिकट काउन्टर पुगे ।

काउण्टर सञ्चालकसंग उनले गोरखा जाने टिकट दिन आग्रह गरे । तर विडम्बना उनले टिकट पाउनुपर्नेमा काउन्टरवालाको ठाडो जवाफ पाए ।

‘आज टिकट काटिन्न, माइक्रोलाई सिधै एक हजार तिर्ने जाने’ काउन्टरवालाको जवाफ उदृत गर्दै उनले सिभिलखबरसंग भने ‘माइक्रो टोखा हुँदै नुवाकोटको त्रिशुली निस्केर जानुपर्छ ।’

घुमाउरो बाटो भएकाले खर्च बढी लाग्ने सोचेर उनि लाग्ने भाडामा भन्दा झण्डै दोब्बर तिर्न राजी भएर माइक्रोमा बसे । सहचालकले सुरुमै माइक्रोमा सवार सबै (सिट प्याक) संग एक एक हजारका दरले भाडा असुलेपछि मात्रै माइक्रो हिड्यो ।

तर काउण्टरमा भनेजस्तो माइक्रो टोखाको बाटो तिर गएन । सितापाइला हुँदै भिमढुंगाको बाटोबाट धार्के निस्कने बाटोबाट माइक्रो गोरखा तर्फ गयो । यो सडकखण्ड नागढुंगा हुँदै धार्के पुग्न भन्दा सहज मार्ग छ ।

‘यातायात ब्यवसायीले चाडबाडलाई बहाना बनाएर यात्रु ठगेका खबर त हामीले सुन्दै आएकै हो तर विपद्मा समेत यातायात ब्यवसायीले यात्रु ठग्न नछोड्ने रहेछन् ।’ ति यात्रुले सिभिलखबरलाई टेलिफोनमा भने ‘विपद्मा सेवा र सद्भाव देखाउनुको सट्टा सबै लुट्नेमै केन्द्रित बनेको देख्दा दिक्क लागेर आयो ।’ उनि यात्रारत माइक्रो बा १ ००६ ख ६१६० नम्बरको इभी हो ।

यता गोरखा दरौदी यातायात कम्पनीका अध्यक्ष नारायण खत्री समेत माइक्रोले भाडा बढी लिएको स्विकार्छन् । नागढुंगाको बाटोबाट यात्रा गर्न प्रहरीले बन्देज गरेपछि बैकल्पिक मार्गबाट यात्रा गराउँदा भाडा बढी लिनुपरेको उनको तर्क छ ।

‘टोखाको बाटो जाँदा एक डेढ सय रुपैयासम्म बढि लिने कुरा हो, तर हजार-हजार रुपैया लिएको कुरा मलाई जानकारीमा छैन’ अध्यक्ष खत्रीले सिभिलखबरसंग भने ‘टिकट काट्न चाही बिहान ट्राफिकले नै बाटोका कारण काट्न नदिएको हो, दिउँसोबाट भने काटेरै पठाएका छौ ।’

खत्रीका अनुसार आज सोमबार मात्रै दरौदी र पृथ्वी यातायातका गरी काठमाडौंबाट गोरखाका लागि २२ वटा माइक्रो छुटेका छन् । – सिभिल खबरबाट साभार 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा