पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टललाई गोरखा दरबारमा प्रतिस्थापन गरियो
गोरखा । गोरखाका एक स्थानीयको घरबाट प्रहरीले बरामद गरेको पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा दरबारमा प्रतिस्थापन गरेका छन् ।
गोरखा नगरपालिका र गोरखा दरबार हेरचाह अड्डाको समन्वयमा आज एक कार्यक्रमका बीच प्रधानमन्त्री प्रचण्डले उक्त धातु गोरखाको पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन् ।
उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापन भएसँगै जिल्लाको महत्त्व अझ बढ्ने विश्वास व्यक्त गरे । उनले जिल्लाको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने समेत उल्लेख गरे ।
गोरखाको सतिपिपलमा फेला पारिएको ५२.३३० केजीको उक्त धातु पुरातत्व विभागले बहुमूल्य भएको प्रमाणित गरेको थियो ।