बाबुको दाहसंस्कार गरी घर फर्कंदै थिए, त्रिशूलीमा ट्याक्सी खस्दा एउटै परिवारका ५ जना अस्ताए

छोरा अझै बेपत्ता

आज बिहान ७ बजेतिर काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन्।

बा २ ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट करिब ५० मिटर तल त्रिशूली नदीमा खसेको थियो र ट्याक्सीको ९० प्रतिशतभन्दा बढी भाग नदीमा डुबेको थियो।

ट्याक्सीमा गोरखा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन शिर्मल, ७० वर्षीया जुनमाया रोकाया, २८ वर्षीया अन्जना रोकाया, १८ वर्षीय दिवस रोकाया, ४१ वर्षीया हरिमाया रोकाया र ९ वर्षीय आगमन नगरकोटी सवार थिए।

दिवसबाहेक सबैलाई प्रहरीले मृत अवस्थामा नदीबाट निकालेको छ भने दिवस अझै बेपत्ता रहेका छन्। उनको खोजीका लागि सशस्त्र प्रहरी बल कुरिन्टारबाट गोताखोरको टोली परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी श्रीराम भण्डारीका अनुसार मृतकहरू एउटै परिवारका हुन्।

गोरखा नगरपालिका-७ का ३९ वर्षीय शंकर रोकायाको शुक्रबार उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो जो त्रिशूलीमा बेपत्ता भएका १८ वर्षीय दिवसका बाबु हुन्। पशुपति आर्यघाटमा दिवसका बाबु शंकरको अन्तिम संस्कार गरी उनका आफन्त घर फर्कंदै थिए।

दुर्घटनामा परी मृत्यु भएका ७० वर्षीय जुनमाया रोकाया शंकरकी आमा हुन्। उनि छोराको निधन भएपछि काठमाडौं पुगेकी थिइन्। हरिमाया र अन्जना जुनमायाकी छोरी हुन्। ९ वर्षका आगमन हरिमायाका छोरा हुन् भने ट्याक्सी चालक अर्जुन शिर्मल जुनमायाका ज्वाइँ हुन्।

 

प्रकाशित मिति : १७ चैत्र २०८०,  शनिबार  १ : ३० बजे